मनोनयनको पहिलो दिन १०,५३३ जनाको उम्मेदवारी दर्ता

 स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया आइतबारबाट देशभर शुरुभएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार पहिलो दिन सो संख्यामा उम्मेदवारी दर्ता भए पनि सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ । दोस्रो दिन सोमबार पनि उम्मेदवारी दर्ताको समय दिइएकाले दोस्रो दिन अझ बढी उम्मेदवारी दर्ता हुने उहाँले बताउनुभयो । 

सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले संख्या बढ्न सक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाकाअनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल नौ सय ७३, उपप्रमुख र उपाध्यक्षमा चार सय ९४, वडा अध्यक्षमा दुई हजार आठ सय २६ को उम्मेदवारी दर्ताको विवरण संकलन भएको छ । 

वडा सदस्यमा तीन हजार एक सय ९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० उम्मेदवारी दर्ता भएको प्रारम्भिक तथ्याङ्क रहेको आयोगको भनाई छ । 

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । 

सोहीअनुसार वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । -रासस


ताजा खबर