गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङको उपाधि आर्मीलाई

नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले तीन स्वर्ण र दुई रजत हात पा¥यो ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।  इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गर्नुभयो । सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराउनुभयो । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । 

बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपिएफका प्रदीप महर्जनलाई पाखा लगाउँदै पहिलो स्थान हात पार्नुभयो । पुरुष ६३ केजीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापामगरले बाजी मार्नुभयो । फाइनलमा उहाँलेआर्मीका पूरन सुनुवार हराउनुभयो । 

पुरुष ६९ केजीमा १३औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित निकाल्नुभयो । पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो हुनुभयो । पुरुष ८१ केजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बन्नुभयो । पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले स्वर्ण जित्नुभयो । । फाइनल भिडन्तमा उहाँले एपिएफका रविन नेपाललाई पन्छाउनुभयो । 

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान कब्जा गर्नुभयो । सागकी स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्नुभयो । महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउँदै स्वर्ण जित्नुभयो । महिला ६० केजीमा आर्मीकी संगीता सुनारले एपिएफकी संगीता डंगाललाई पाखा लगाउदै स्वर्ण हात पार्नुभयो । 

६९ केजीमा आर्मीकी पुनम रावलले एपिएफकी विनिता थापामगरलाई हराउँदै स्वर्ण जित्नुभयो । पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः २५ हजार, १५ हजार र ७५ सय रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो । पाँचदिने प्रतियोगिताको पुरुषमा सात र महिलामा पाँच गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।  -रासस


ताजा खबर