आचार संहिता पालना गरी मनोनयन दर्ता गराउन आग्रह

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै निर्वाचन आचार संहिताको पालना गरी मनोनयन पत्र दर्ता गराउन आग्रह गरेको छ ।

आयोगले शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोलि वा पर्सिमध्ये आफूलाई अनुकूल पर्ने दिन र समयमा निर्वाचन अधिकृतको कार्यालयमा गई पत्र दर्ता गर्न आग्रह गरेको गरेको हो ।

आयोगले मनोनयन पत्र दर्ताका लागि बिहान १० बजे देखि बेलुका ५ बजे सम्मको समय निर्धारण गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलका तर्फबाट मनोनयन पत्र दर्ता गराउँदा समावेशी सिद्धान्तलाई ख्याल गरी उम्मेदवार तय गर्न समेत आग्रह गर्नुभयो ।

निर्वाचन आयोगले भोलि र पर्सि अर्थात् वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गर्ने, वैशाख १३ उम्मेदवार विरुद्ध उजुरी दिने, १४ र १५ गते उजुरीमाथि छानबिन गर्ने र वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

आयोगले वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैबिच निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिवारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आउन २० दिन बाँकी रहँदा मतपत्र छपाइको काम तीव्र रुपमा भइरहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्दछ ।

आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र उम्मेदवार सङ्ख्या धेरै भएकाले मतपत्र पनि विभिन्न थरीको हुने बताउनुभयो ।

उहाँले मतपत्र छपाई गरेर निर्वाचन गर्न झन्झटिलो हुने भएकाले आगामी दिनमा विद्युतीय मेशिनको प्रयोग गर्ने तर्फ दलको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुहुँदै निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन सम्बद्ध सबै पक्षसँग आग्रह पनि गर्नुभयो ।


ताजा खबर