आईपीएलका लागि सन्दीप दिल्लीमै कायम : २०२० को आईपीएलमा अटाउलान् कि नअटाउलान् भन्ने अड्कलवाजी सकियो

नयाँदिल्ली : आईपीएलको सिजन २०२० का लागि दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई ‘रिटेन’ गरेको छ ।

दिल्लीले आफ्नो ट्वीटरमासमेत खेलाडीको तस्बिरसहित नाम सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेटर सन्दीप पनि समेटिएका छन् ।

सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीप २०२० को आईपीएलमा अटाउलान् कि नअटाउलान् भन्ने अड्कलवाजीका बीच दिल्लीले टिममै राख्ने निर्णय गरेको हो । सन्दीपसँगै अमित मिश्रा, कागिसो राबाडा, इशान्त शर्मा र आवेश खान पनि कायम भएका छन् ।

विकेटकिपर रिसव पन्तसहित ब्याट्सम्यान शिखर धवन, पृथ्वी साह र श्रेयर अयरलाई पनि दिल्लीले कायम राखेको छ । नेपाली क्रिकेटर सन्दीप २०१७ देखि नै दिल्लीसँग आवद्ध भएका हुन् ।

आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाएका थिए ।  आईपीएलमा पहिलो सिजनको सहभागीतामा तीन खेलमात्र खेल्न पाएका सन्दीपले पाँच विकेट लिएका थिए ।

दिल्ली डेयर डेभिल्समा २० लाख भारतीय रुपैँयामा अनुबन्धन भएका सन्दीपले १२ औं संस्करणको आईपीएलमा  अविस्मरणीय प्रर्दशन गरे ।  आईपीएलमा सन्दीपले दोस्रो पटक सहभागिता जनाउँदा उनको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्ससम्म पुग्यो ।

दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिएका थिए । २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे।  दिल्लीका बलरमध्ये सर्वाधिक विकेट टेकरका रुपमा उनी सातौं नम्बरमा पर्न सफल भए ।  दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेल खेलेका सन्दीपले त्यसपछिका १० खेलमध्ये दुई खेलमा मात्र मौका पाएका थिए ।


ताजा खबर