केन्द्रीय सुरक्षा समितिमा निर्वाचन सुरक्षा रणनीतिबारे छलफल

केन्द्रीय सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको छ । 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सिंहदरबारमा बसेको बैठकमा  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अपनाउने रणनीतिबारे छलफल  भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । 

“सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनमा अपनाउने सुरक्षा रणनीतिबारे कुराकानी भयो”, गृह प्रवक्ता पोखरेलले भन्नुभयो, “सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिहरूले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे अवगत गराउनुभयो । थप सुरक्षा प्रबन्ध राम्रो कसरी बनाउने र स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भयो ।”

बैठकमा गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसुर बाँकी नराखी लाग्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

“निर्वाचन तयारीका सन्दर्भमा तपाईँहरूले पेस गरेका योजना उपयुक्त छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यो हाम्रो जिम्मेवारी हो”,  गृहमन्त्री खाणले भन्नुभयो, “अझ सशक्त रूपमा कार्य योजना बनाएर तपाईँहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला । हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।”

बैठकमा निर्वाचनमा आउन सक्ने चुनौती के के हुन् र ती चुनौती चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

बैठकमा गृहमन्त्री खाण, गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, गृह प्रवक्ता पोखरेलसहित सुरक्षा निकायका अन्य अधिकृतहरू र गृह मन्त्रालयका सम्बन्ध पदाधिकारीको सहभागिता थियो ।


ताजा खबर