कलेजो प्रत्यारोपणमा प्रधानमन्त्रीको चासो : प्रत्यारोपण सेवालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको कलेजो प्रत्यारोपणको प्रशंसा गर्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। प्रधानमन्त्री ओलीले कलेजो प्रत्यारोपणमा नेतृत्व गरेका डा. रमेशसिंह भण्डारीसहितको टिमसँग शुक्रबार भेटघाट गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले करिब २० मिनेट प्रत्यारोपण सेवा र यसको चुनौतीबारे चासो राखेका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा डा. भण्डारीले दक्ष जनशक्तिका साथै पूर्वाधारको आवश्यकता रहेको बताएका थिए। उनले आवश्यक पूर्वाधार नभए  प्रत्यारोपण सेवालाई दीगो बनाउनु चुनौतीपूर्ण रहेको अवगत गराएका छन्।

अस्पतालले अहिलेसम्म तीनजनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिसकेको छ। भेटमा प्रधानमन्त्री ओलीले प्रत्यारोपण सेवालाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएका छन्। 

प्रधानमन्त्री केपी ओलीसँगको भेटमा डा. रमेशसिंह भण्डारी । तस्बिर : डा.भण्डारीको फेसबुकबाट


ताजा खबर