प्रधानमन्‍त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा : औपचारिक नियुक्ती भने आइतबार पाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापा बन्ने भएका छन्। कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाउने भएका हुन्।

नेकपा नेतृत्व र केही निकट नेतासँगको छलफलपछि प्रधानमन्त्री ओलीले पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई सल्लाहकार नियुक्त गर्ने तयारी गरेका हुन्। थापाले औपचारिक नियुक्ती भने आइतबार पाउने बालुवाटार स्रोतले बतायो। मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्नेछ।

थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका नेता हुन्। उनको पृष्ठभूमिसमेत पत्रकारिता भएकाले उनलाई प्रेस सल्लाहकार बनाउने विषयमा सहमति जुटेको स्रोतको दाबी छ। थापा नेकपा केन्द्रीय सदस्यसमेत हुन्।

प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारका सबै सदस्यले राजीनामा बुझाए पनि ६ जनाको नाममात्र स्वीकृत भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार मंसिर १ गतेदेखि लागू हुनेगरी १३ जनाले राजीनामा बुझाएका थिए।

प्रेस सल्लाहकार अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भइसकेको छ। राजीनामा स्वीकृत भएका अन्य पदमा कसले नियुक्त पाउने भन्ने टुंगो भने लागि सकेको छैन।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामसरण बजगाईँ, प्रविधि सल्लाहकार हुन् अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायतको भने राजीनामा स्वीकृत भएको छैन।

प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्ने योजनासहित सबै सल्लाहकार र सहयोगीलाई राजीनामा दिन निर्देशन दिएका थिए। सोही अनुसार सबै सल्लाहकार र सहयोगीले राजीनामा दिएका हुन्।

रासस


ताजा खबर