‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ’ प्रतियोगिता सुरु

सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ’ प्रतियोगिता मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं स्वर्गीय गणेशमानका छोरा प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो। 

बसन्तपुर डबलीमा सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै प्रकाशमानले नेपालमा प्रजातन्त्र ल्याउन महत्वपूर्ण योगदान दिनुभएका  गणेशमानको स्मृतिमा बक्सिङसँगै रोडरेस, ब्याडमिन्टन जस्ता खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनुभयो। उहाँले गणेशमान सिंह फाउन्डेसनले यस प्रतियोगितालाई सरकार र विभिन्न संस्थाको सहयोगमा आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना गरेको प्रतियोगिातमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ। जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट भएर आएका खेलाडीबीच अन्तिममा वसन्तपुर डबलीमा भिडन्त भएको हो। 

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलातर्फ ४८, ५४–५७, ६०, ६४–६९, ६९–७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पहिलो दिन मंगलबार पुरुषतर्फ नौ र महिलातर्फ चार तौल समूहमा प्रतिस्पर्धा भएको छ। 

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेस प्रदेशबाट सात पुरुष र पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी कूल १०२ जना खेलाडी सहभागी छन्। 

प्रतियोगितामा हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन्। यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपियाँ पुरस्कार पाउनेछन्।   यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो। 


ताजा खबर