पर्यटन बोर्डद्वारा बिबिसी मास्टर सेफको टोलीलाई सम्मान

नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफ: द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमबिच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सेफ टोलीलाई सम्मान गर्नुभएको थियो ।

त्यस अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । सन्तोषसहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्‍याएको भन्दै उहाँहरूलाई पनि बोर्डले सम्मान गरेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्त्व रहेको धारणा राख्नुभयो ।

सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजले आफूहरू नेपाल घुम्न, यहाँको कला संस्कृतिका बारेमा जान्न पाउँदा खुसी लागेको बताउनुभयो । -रासस


ताजा खबर