पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो । 

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताउनुभयो । उहाँले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरूक र कर्तव्यनिष्ठ बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले चुनौतीको सामना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गर्नुभयो ।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान् समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उहाँले चित्रण गर्नुभयो । समारोहमा विश्व स्काउट सङ्गठन, एसिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो ।

सो अवसरमा नेपालका ज्येष्ठ स्काउट प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराउनुभएको थियो ।

ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ । रासस


ताजा खबर