प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा नयाँ वर्षको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेर समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्यभएको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले देश विदेशमा रहनुभएका सबै नेपाली दिदी–बहिनी तथा दाजु–भाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले दिनुभएको शुभकामना सन्देशको पूर्ण विवरण :
विक्रम संवत् २०७८ पूरा भई नयाँ वि.सं. २०७९ प्रारम्भ भएको सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्षको आगमनसँगै हामी सबै नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्दैछौं। यस अवसरमा गत वर्षको अनुभवलाई शिक्षाको रूपमा लिई नयाँ वर्षमा अझ बढी मिहिनेतका साथ कर्मक्षेत्रमा खरो उत्रिंदै राष्ट्रको नव निर्माण, समृद्धि र सुशासनका निम्ति खटिन म सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु।

मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै हाम्रो सर्वोपरि लक्ष्य हो। यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने खाँचो छ।

नयाँ वर्षले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा हामी सबैलाई सफलता प्रदान गरोस् भन्ने कामना गर्दछु।

जय नेपाल।


ताजा खबर