नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठको तेस्रो सातादेखी

सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठको तेस्रो सातामा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

हरेक दुई दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन । यसबिचमा गत फागुनमै प्रतियोगिता आयोजना गर्ने तयारी गरिए पनि राष्ट्रिय खेलकुद परिषद् नेतृत्वविहीन बन्दा त्यति बेला पनि सम्भव भएको थिएन ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा प्रतियोगिता आयोजना हुने छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी प्रदेशमा आयोजना भएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ । –रासस


ताजा खबर