निर्वचनको मितिसार्ने कुरा अव सम्भव छैन : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन सम्पन्न गराउने दायित्वलाई संवेदनशील भएर पुरा गर्न प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आग्रह गर्नु भएको छ ।

निर्वाचन आयोगले विराटनगरमा आज आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन सम्पन्न गराउने महत्त्वपूर्ण जिम्मेवारी तपाईँहरूको काँधमा आएकाले अहिले देखिनै मतदान केन्द्रमा खटिएर स्थानीय समुदायसँग समन्वय गरी काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुन अनुसार सबै प्रक्रिया अगाडी बढाएको उल्लेख गर्दै अहिले निर्वाचनको उत्कर्षमा आएर जनप्रतिनिधिले पुरा अवधि काम गर्न पाओफन भन्ने कुराको कुनै तुक नभएको बताउनुभयो ।

तोकिएको मितिमा निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको भन्दै उहाँले निर्वाचन रोक्ने र निर्वाचनको मिति सार्ने कुरा अब सम्भव नभएको बताउनुभयो । निर्वाचन लोकतन्त्र र मुलुकको समृद्धिको संवाहक भएकाले निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले निर्वाचन आचार संहिता पूर्ण रूपले कार्यान्वयन गर्न सक्रिय भएर लाग्नसमेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रम प्रदेश नं .१ का ११ जिल्लाका निर्वाचन गराउन खटिएका प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको सहभागिता थियो । -रासस


ताजा खबर