एन्फा सहिद स्मारक लिग प्राविधिक कारणवश सर्‍यो

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा मङ्गलवारबाट सुरु हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिग १० दिन पछि सरेको छ ।

१४ क्लबको सहभागितामा चैत २९ गतेबाट हुने भनिएको लिग प्राविधिक कारणवश वैशाख ९ गतेबाट सञ्चालन हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

योसँगै २०७८ मा ‘सी’ डिभिजन लिग आयोजना नहुने भएको छ । ‘सी’ डिभिजन लिगबाट शीर्ष २ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । यो वर्षका ‘ए’ र ‘बी’ डिभिजन लिग भने सम्पन्न भइसकेका छन् ।

आइबार मात्र ‘बी’ डिभिजन लिग सम्पन्न भएको थियो । जसमा चर्च ब्वाइज यूथ क्लब विजेता र खुमलटार यूथ क्लब उपविजेताका रुपमा ‘ए’ डिभिजन लिगमा बढुवा भएका थिए ।

सामाजिक यूथ क्लब र झम्सिखेल यूथ क्लब ‘सी’ डिभिजनमा घटुवा भएका छन् ।

फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिग मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज यूथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका थिए ।


ताजा खबर