रेमिट्यान्स बढाउन श्रममन्त्री श्रेष्ठद्वारा एक दर्जन प्रस्ताव

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे विभिन्न प्रस्ताव गर्नुभएको छ । 

अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिटेन्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैङ्किङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताउनुभयो । 

नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैङ्कहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे राख्नुभएका प्रस्ताव यस्ता छन् ।

१‍. वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने । 
२. विदेशबाट पैसा पठाउँदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने  
३. विदेशका प्रमुख शहरमा नेपाली बैङ्क स्थापना गर्नुपर्ने । 
४. विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने । 
५. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने । 
६. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने ।
७. वार्षिक रुपमा सबैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने ।  
८. औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने । 
९. नेपाल फर्केर उद्यम गर्नेहरूलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने । 
१०. वैदेशिक रोजगारीमा जाने श्रमिकको बैङ्क खाता अनिवार्य गर्ने । 
११. सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने । 
१२. वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने ।


ताजा खबर