नसर्ने रोग रोकथाम र नियन्त्रणको बहुक्षेत्रीय कार्ययोजना सार्वजनिक

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने बताउनुभयो ।

मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । “सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उहाँको भनाइ थियो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नतर्फ मन्त्रालयले ध्यान दिने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्कर प्रसादले स्वास्थ्य उपचार गर्न विदेश जाँदा धेरै पैसा बाहिरीने गरेको भन्दै नेपालमा उपचार हुने रोग यही नै गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश पाण्डवले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर नेपालले दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँचवर्षीय (२०७८–८२) योजना ल्याइएको बताउनभयो । –रासस


ताजा खबर