राष्ट्रपतिले मानपदवी र विभूषण वैशाख १ गते सुशोभन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी एवं विभूषण २०७९ साल वैशाख १ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासबाट सुशोभन गर्नुहुने भएको छ । सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गर्दै आएको छ ।

गृह मन्त्रालय विभूषण शाखाले मानपदवी प्राप्त गर्ने व्यक्तिहरूलाई यही महिनाको २३ देखि २८ गतेसम्म परिचयपत्र खुल्ने कागजसहित मन्त्रालयमा सम्पर्क राख्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ । मानपदवीबाट विभूषित हुनेहरूका लागि नेपाली पोसाक अनिवार्य गरिएको छ । मौलिक परम्परा र संस्कृति पहिचानका लागि विभूषितहरूले जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने पोसाक लगाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानव पदवी वितरण गरिएको छ ।

मन्त्रालयका अनुसार, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ । तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री राजनीतिज्ञ प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई र उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्री ३९, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवाश्री ३१३ र जनसेवाश्री १८५ जनालाई प्रदान गरिएको छ ।

त्यस्तै, विभूषण शाखा प्रमुख रमा आचार्यका अनुसार विभिन्न आठवटा अलङ्कार १०७ जना र छ वटा पदक ३७ जना सुरक्षाकर्मीलाई प्रदान गरिएको छ । सो अलङ्कार र पदकहरू गृह मन्त्रालयबाट नै वितरण गर्ने कार्यक्रम रहेको छ । -रासस


ताजा खबर