टोल तहसम्म प्रचार समिति गठन गर्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिकोमङ्गलवार बसेको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा आज बसेको बैठकले प्रचारप्रसारको कार्य विवादरहित र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै प्रचारप्रसार समितिले केन्द्रीय प्रचारप्रसार समितिले गरिएका सूचना, प्रचार सामाग्रीलाई पार्टीका सबै संयन्त्र, सदस्य र शुभचिन्तकमार्फत मतदातासमक्ष पु¥याउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले पार्टीको प्रचारप्रसार समितिलाई परामर्श दिन वरिष्ठ पत्रकार सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चारमाध्यमसँग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक तोकेको छ ।

प्रचारप्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर वीरही, अनलाइन मिडिया समन्वयन तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेल, टेलिभिजन समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा अनिता विन्दु र रेडियो एफएम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा गोपाल झालाई जिम्मेवारी दिइएको छ ।

यस्तै पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको सदस्यमा सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घलाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । -रासस


ताजा खबर