बच्चामा अपेन्डिसाइटिसको शंका भएमा के गर्ने ? : डा. आशिषलाल श्रेष्ठ, वरिष्ठ बालशल्य चिकित्सक

बालबालिकामा देखिने कैयौं समस्यामध्ये आकस्मिक रूपमा पेट दुख्दा भेटिने एउटा अवस्था ‘अपेन्डिसाइटिस’ पनि हो । अपेन्डिसाइटिस हुँदा देब्रे कोखामा थिच्दा दाहिने कोखा र त्योभन्दा तलतिर दुख्छ । सुतिरहेको बिरामीले घुँडा नखुम्चाईकन खुट्टा उचाल्दा दाहिने कोखा र त्योभन्दा तलतिर दुखाइको अनुभव हुन्छ । दाहिने खुट्टालाई नखुम्चाईकन पछाडि लग्दा दाहिने कोखा र त्योभन्दा मुनि दुख्छ । यस्तो लक्षण बालबालिकामा देखियो भने अपेन्डिसाइटिस भएको आशंका गर्नुपर्छ । बालबालिकामा हुने अपेन्डिसाइटिसमा केन्द्रित भएर  बालशल्य चिकित्सक डा. आशिषलाल श्रेष्ठसँग  गरिएको  कुराकानी गरेका छन् । डा. श्रेष्ठले भारतको क्रिस्टियन मेडिकल कलेज, भेलोरमा तीन वर्षको एमएस जनरल सर्जरी गरेका छन् । त्यसपछि डा. श्रेष्ठले थप तीन वर्ष एमसीएच पेडियाट्रिक सर्जरीको तालिम लिए । डा. श्रेष्ठ नेपालकै पहिलो र एक मात्र एमसीएच  बाल सर्जन हुन् । 

० अपेन्डिक्स भनेको के हो ?

अपेन्डिक्स आन्द्राको एउटा सानो भाग अथवा अंग हो । जहाँ सानो आन्द्रा, ठूलो आन्द्रामा परिणत हुन्छ अथवा मिल्छ । झट्ट हेर्दा गड्यौला जस्तो देखिने यो अंगको मोटाइ भने आन्द्राभन्दा धेरै पातलो हुन्छ । यसको लम्बाइ औसतमा ८ सेमि हुन्छ र यो पेटको दाहिने भागको तल्लोपट्टि रहेको हुन्छ ।

० अपेन्डिसाइटिस भन्नाले के बुझिन्छ ?

अपेन्डिक्समा संक्रमण भएर सुन्निने अवस्थालाइ अपेन्डिसाइटिस भनिन्छ ।

० अपेन्डिसाइटिस कसलाई हुन्छ वा हुन सक्छ ?

यो जो कसैलाई पनि हुन सक्छ । यसले कुनै जातधर्म र उमेर हेर्दैन । कुनै पनि उमेरमा हुन सक्छ । यद्यपि, पुरुषमा जीवनभर यसको जोखिम ९ प्रतिशत रहन्छ भने महिलामा ७ प्रतिशत हुन्छ ।

० के अपेन्डिसाइटिस बच्चामा हुन सक्छ ?

धेरैले यो समस्या ठूला र वयस्क व्यक्तिमा मात्र हुन्छ भन्ने सोचे तापनि एक तिहाइ बिरामीहरू बाल्यकालमै यो समस्या लिएर अस्पताल आउने गर्छन् । बच्चामा पनि ११–१२ वर्षको उमेरमा यो समस्या धेरै
देखिएको पाइन्छ ।

० अपेन्डिसाइटिस कति प्रकारका हुन्छन् ?

अक्युट र क्रनिकर रेकरेन्ट गरी दुई प्रकारका हुन्छन् । अक्युट अपेन्डिसाइटिस हुँदा अकस्मात् दाहिने पेटको मुनिको भाग दुख्ने समस्या देखिन सक्छ । अक्सर धेरैमा यो दुखाइ सुरुवातमा नाइटोबाट सुरु भएर पछि दाहिनेपट्टिको तल्लो पेटमा सर्ने गर्दछ । यो दुई प्रकारका हुन्छन् ः
१. सिम्पल (सरल) अपेन्डिसाइटिस– यसमा अपेन्डिक्समा केवल सुन्निने र संक्रमण हुने अवस्था देखिन्छ । प्राथमिक अवस्थामा आउँदा धेरैमा सिम्पल र सरल अवस्थामा यो समस्या भेटिन सक्छ ।
२. कम्प्लिकेटेड (जटिल) अपेन्डिसाइटिस– जब अपेन्डिक्समा संक्रमण हुने क्रममा यो सुन्निएर फुट्ने, कुहिने अथवा पेटमा पीप फैलने अवस्था हुन्छ, त्यसले जटिल रूप लिन्छ र यसैलाई कम्प्लिकेटेड (जटिल) अपेन्डिसाइटिस भनिन्छ ।
कहिलेकाहीँ धेरै ढिलो आउँदा, पीप पेटैभरि फैलिएर आएको पनि केही उदाहरणहरू छन् । यस्तो अवस्थामा आउँदा बिरामीको स्वास्थ्य धेरै नाजुक अवस्थामा पुग्दछ र ज्यानकै जोखिम पनि हुन सक्छ । क्रनिक र रेकरेन्ट अपेन्डिसाइटिस हुँदा प्रायःमा बारम्बार दाहिने तल्लो पेट दुख्ने समस्या देखिन्छ, जुन लामो समयदेखि चल्दै आएको हुन सक्छ ।

० अपेन्डिसाइटिस कसरी हुन्छ ?

अपेन्डिक्सभित्र साधारण रूपमा पाइने लिम्फोइड फलिकल्स भन्ने ससाना गिर्खा धेरै कारणले सुन्निन सक्छन् । आन्द्रामा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुँदा पनि यी गिर्खा सुन्निन सक्छन् । यसले अपेन्डिक्सभित्रको प्रेसर बढ्छ र संक्रमणको अवस्था सुरु हुन्छ । यसै क्रममा त्यसभित्र पीप संकलन हुन्छ र बिरामीमा दुखाइ बढ्दै जान्छ । बेलैमा उपचार नगरेमा जटिलता देखिन थाल्छ ।
कहिलेकाहीँ जुकाभित्र पस्दा अथवा दिसामा भेटिने साना ढुंगाजस्ता कणहरू जसलाई फिकोलिथ भनिन्छ । यस्ता वस्तुहरू भित्र पस्दा पनि बाटो अवरुद्ध हुनाले अचानक संक्रमणको स्थिति आउन सक्छ । कसै कसैमा भने पिन, किल्ला, काटी, बियाँ आदि वस्तुहरू अज्ञानतावश निल्दा अपेन्डिक्सभित्र पस्न गएर संक्रमण सुरु हुन सक्दछ ।

० अपेन्डिसाइटिसका लक्षण के के छन् ?

ठूला बच्चाले दुखाइ सुरुमा नाइटो वरिपरि सुरु भएर पछि दाहिनेपट्टिको मुन्निको पेटमा सर्न गएको बताउँछन् । यसका साथै उल्टी आउने, भोक नलाग्ने, खान मन नलाग्ने र ज्वरो आउने अवस्था पनि हुन सक्छ ।
कसैमा कब्जियत हुने भने कसैमा पखाला लाग्ने हुन सक्छ । धेरै ढिलो भएर पेटमा पीप फैलिसक्दा पेट फुल्दै जाने लक्षण पनि देखिन सक्छ । यस्तो अवस्थामा आउने बच्चाहरू निकै जटिल र नाजुक स्थितिमा हुने गर्छन् ।

० अपेन्डिसाइटिसको निदान कसरी गर्न सकिन्छ ?

दुखाइको सुरुवातका लक्षणहरू बुझेर र साथै देखिएका अरू लक्षणको मूल्यांकन गरेर यसको शंका गर्न सकिन्छ । त्यस्तै, पेटको जाँच गर्दा दुखाइ दाहिने मुन्निको पेटमै छ भने शंका अझै बढ्छ । थप पुष्टिका लागि अल्ट्रासाउन्डको सहयोग लिन सकिन्छ । यसले अपेन्डिक्समा रहेको समस्या देखाउँछ । यसका साथै त्यसको वरिपरि पीप जमेको आशंकाबारे पनि
अवगत गराउँछ ।
कहिलेकाहीँ आन्द्रा नजिक रहेको मुख्य नसाहरूको पर्दामा सुन्निएर बसेका गिर्खाका कारण पनि यो अवस्थासँग पु¥याउन सक्छ । त्यस अवस्थालाई मेसेन्टेरिक लिम्फैडेनाइटिस भनिन्छ । जसमा साधारण रूपमा शल्यक्रिया गर्न‘ पर्दैन । यसका साथै गरिने रक्त परीक्षणले पनि समस्याको निदान गर्न सहयोग गर्छ ।

० अपेन्डिसाइटिसको उपचार विधि के कस्ता छन् ?

प्रारम्भिक अवस्थामा आउँदा ५ मिमिका स–साना तीन वटा प्वाल पारेर ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया सम्भव हुन्छ । ठूलो घाउ नापारीकन गरिने यस्तो अप्रेसनमा बच्चाहरूलाई दुखाइ धेरै कम हुन्छ र औसतमा २÷३ दिनमै घर फर्कन सकिने अवस्था हुन्छ । आन्द्रा चलाउन नपर्दा अप्रेशन पछि आन्द्राले छिटो काम गर्दछ । चाँडै सामान्य खानेकुरा खानेदेखि लिएर नियमित कार्यमा फर्कन सक्छ । स्कुल पनि धेरै दिनसम्म छुट्दैन ।
अस्पताल आउन ढिला भएर पेटभरि संक्रमण भएको खण्डमा भने ठूलो घाउ पारेर चिर्न पर्ने अवस्था हुन सक्छ । घाउ दुख्ने, पाक्ने डर पनि धेरै हुन्छ ।

० उपचार समयमा नभए के कस्ता जटिलता आउन सक्छन् ?

यसका धेरै जटिलता छन् । ढिला भएर अपेनिडक्स फुटेमा पीप र संक्रमण पेटभरि फैलिन सक्छ । रगतमा संक्रमण भएमा शरीरभरि नै पीप फैलिएर अरू अंगले काम नगर्ने र ज्यानै जोखिममा हुन सक्ने अवस्था आउन सक्छ । पछि अप्रेसन गर्न‘ पर्दा आन्द्रा एक आपसमा टाँसिने र आन्द्रामा अवरोध हुने अवस्था आउन सक्छ ।

० यसको उपचार गर्न कसको सल्लाह र परामर्श लिनु उचित हुन्छ ?

बच्चाहरूको शल्यक्रियासम्बन्धी तालिम प्राप्त गरेका प्रशिक्षित एवं अनुभवी बाल सर्जनसँग राय–सुझाव तथा परामर्श लिएर अघि बढ्नु उत्तम हुन्छ किनभने संसारभरिकै धेरै अध्ययन र तथ्यांकहरूले बाल सर्जनको हातमा यो समस्याको उपचार र नतिजा सबैभन्दा राम्रो भएको देखिएको छ ।

० बच्चाको अचानक पेट दुखेमा के गर्न उपयुक्त हुन्छ ?

यस्तो अवस्थामा अपेन्डिसाइटिसको शंका हुँदा भरसक चाँडो अस्पताल पु¥याएर एक बाल सर्जनको सुझाव लिनु
उपयुक्त हुन्छ ।

सफल नेपाल कुराकानी

ताजा खबर