पशुपतिका रकमी र धानको हिसाबमा पारिश्रमिक

वार्षिक १० पाथी धानदेखि मासिक दुई लाख रुपियाँ वंश परम्पराका आधारमा नियुक्ति

 नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ । पारिश्रमिकका लागि धान दिने लिने चलनदेखि आधुनिक रूपमा उच्च रकमको तलब पशुपति क्षेत्रमा पाइन्छ । धानको हिसाबमा तलब दिइने भए पनि त्यसको गणना भने रुपियाँमा गर्ने चलन अहिले छ । पारिश्रमिकबापत धानको सट्टा रकम पाउने भएपछि पशुपति भण्डार तहबिलका रकमी (कर्मचारी) पनि खुसी छन् । धान कुटाउन समस्या हुने भएपछि त्यस बराबरको रकम उपलब्ध गराउने गरिएको छ । रकमीको नियुक्तिका लागि शैक्षिक योग्यता आवश्यक पर्दैन । उनीहरूले परम्परादेखि नै पुर्खाको काम धान्दै आएका छन् ।

अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले पुर्खादेखिको जिम्मेवारी रकमीहरूले सम्हाल्दै आएको बताउँदै भन्नुभयो, “वंश परम्पराका आधारमा नियुक्त हुने प्रचलन भएकाले यो विशेष सेवा हो । धानको सट्टा रकम पाउने भएपछि रकमीलाई सजिलो भएको छ । यसप्रति खुसी नहुने जागिर छाडेर गइसकेका छन् ।” प्रतिमुरी दुई हजार रुपियाँ उपलब्ध गराइन्छ भने बढीमा २६ मुरी धान पाउने रकमी छन् ।

पशुपतिनाथका मूल पुजारीलाई मासिक दुई लाख रुपियाँ र अन्य पुजारीलाई डेढ लाख रुपियाँ तलब व्यवस्था छ । पशुपतिनाथका मूल पुजारीअन्तर्गत पशुपतिको चार किल्लामा आपराधिक क्रियाकलाप भएमा सजाय दिने द्वारे, कानुनी राय दिने विचारी, घाटमा आएका मरे बाँचेको निदान गर्ने घाट वैद्य, श्लेषमान्तक वनको हेरचाह गर्ने वन डिट्ठा, दोपाया चौपाया काट्ने नुहा तथा पशुपतिनाथका पुजारीको दारी कपाल काट्ने र खौरने वायोमचा छन् ।

पशुपति भण्डार तहबिलअन्तर्गत ढोका खोल्ने बन्द गर्ने कोतवाल, पानी घडीबाट समय हेर्ने र तोक्ने घडीवाल, मन्दिरको ढुकुटी हरहिसाब राख्ने बिसेट नाइके, अभिलेख तयार गर्ने जोशी वैदार छन् । जयवागेश्वरी तहबिलअन्तर्गत जग्गाको हरहिसाब हेर्ने पचली नाइके, वैदार, पूजाआजा गर्ने खल्की छन् । उनीहरूमध्ये कुनै पूर्णकालीन र कुनै अल्पकालीन सेवामा कार्यरत छन् ।

द्वारेले २७ मुरी, विचारीले २४ मुरी, वैदारले १७ मुरी, तहबिलदारले १९ मुरी, देशवार प्रधानले २२ मुरी, पञ्चप्रधानले १७ मुरी, तहसिलदारले नौ मुरी, वन डिट्ठाले १७ मुरीको खान्की छ । गलसवार (रुखका हाँगाबिँगा काटेर पशुपतिनाथमा भोग पकाउन दाउरा दिने)लाई धान खान्की छैन । पञ्चप्रधान तीनमध्ये दुई जनालाई १० पाथी धान बढी दिइन्छ । देशवार प्रधान तीनमध्ये दुई जनालाई एक मुरी धान बढी दिने गरिएको छ । नुहालाई चार मुरी, महानेलाई १३ मुरी र अन्य पाँच महानेलाई नौदेखि ११ मुरी, वायोमचालाई दुई मुरी, खञ्जनेश्वर पुजारीलाई १३ मुरी तथा वन महाने छ जनालाई दामासाहीले ४८ मुरी धान तलबका रूपमा दिइन्छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार केही यी रकमीलाई पूर्णकालीन र केही अल्पकालीन कामका लागि राखिएकाले यसमा तलब फरक पर्न गएको हो । वि.सं. १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्धले सङ्कल्प गरेर मूल पुजारीलाई यी सबै नियुक्त गर्न र कामकाज तोक्न भनिएको तथा यसो नगरे पञ्चमहापातक लाग्छ भनी जनरल भीमसेन थापासमेत साक्षी बसेको यो परम्पराबाट नियुक्त रकमी कर्मचारीको व्यवस्था पशुपति क्षेत्रमा अझै छ ।

-सरोज आचार्य/गोरखापत्र दैनिक


ताजा खबर