श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् ।

देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उहाँले जानकारी दिनुभयो ।

विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ ।

अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्‌र्यु घोषणा गरेको छ ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्‌र्यु आदेश जारी गरेको हो ।

कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ । –एएनआई


ताजा खबर