बिमस्टेक बडापत्र पारित : तीन नयाँ सम्झौतामा हस्ताक्षर

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ ।

भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ।

सम्मेलनले तीनवटा नयाँ सम्झाैता अनुमोदन गरेको छ।कोलम्बोमा भएको शिखर सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका तर्फबाट हस्ताक्षर गर्नुभएको मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्री खड्काले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि र कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी आबद्धतामा हस्ताक्षर गर्नुभएको हो ।

त्यसैगरी, मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गर्नुभएको छ।

बिमस्टेक सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, मुख्य सचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौडेललगायत सहभागी हुनुहुन्थ्यो।

यो पटकको शिखर सम्मेलनको नारा ‘बिमस्टेक–लचिलो क्षेत्र, समृद्ध अर्थतन्त्र, स्वस्थ जनता’ राखिएको थियो।सम्मेलनलाई सातै सदस्य राष्ट्रका नेताले सम्बोधन गर्नुभएको छ ।

सम्मेलनले बिमस्टेकको अध्यक्षता थाइल्याण्डलाई सुम्पिएको छ।नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड बिमस्टेकका सदस्य राष्ट्र हुन्। -रासस


ताजा खबर