त्रिदेशीय टी–२० सिरिजमा नेपालको सुखद सुरुवात

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

जितसँगै नेपालले पीएनजी विरुद्ध एक दिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले दुई खेलको एक दिवसीय सिरिज २–० ले गुमाएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा करण र सन्दीप लामिछानेले ३/३ विकेट लिए । अविनाश बोहराले २ विकेट र सोमपालले १ विकेट हात पारे ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

अब नेपालले दोस्रो खेलमा बुधवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ ।

सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ । नेपालले पहिलो खेलमा २ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।


ताजा खबर