पोखरा विमानस्थल आज नेपाललाई हस्तान्तरण गरिँदै

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ । 

चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ । चिनियाँ विदेश मन्त्री वाङ यी हाल नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

यस हस्तान्तरण समारोह भर्चुअल विधिबाट हुँदैछ भने सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पोखरा आउनुभएको छ ।  

विमानस्थलको साँचो चिनियाँ विदेश मन्त्रीबाट प्रधानमन्त्री देउवालाई हस्तान्तरण हुनेछ भने त्यस लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदर पत्र प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उहाँका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल ९प्यासेन्जर बोडिङ ब्रिज० एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् । -रासस 


ताजा खबर