विश्व कविता दिवशमा विशेष कविगोष्ठी आयोजना

विश्व कविता दिवस (मार्च २१) का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महत्व रहेको बताउनुभयो । कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचार–प्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार व्यक्त गर्नुभयो । सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३०औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको र नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको हो ।

गोष्ठीका सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले आफू काव्य विभागको जिम्मेवारीमा आएपछि कविता र काव्यका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले थप उचाइ प्राप्त गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा ३१ जना कविहरूले कविता वाचन गर्नुभएको थियो ।


ताजा खबर