आज थप ३८ जनामा कोरोना पुष्टि : २६९ सङ्क्रमणमुक्त

आज देशभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ३ सय ७६ नमुनाको परिक्षण गर्दा ३८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

गएको २४ घण्टामा २ सय ६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

देशभर २ हजार ४ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

अहिले कोरोनाबाट औसत संक्रमणदर शून्य दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.मिश्रले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्लामा १३ संक्रमण पुष्टि भएको छ भने भक्तपुर र ललितपुरमा भने कोही पनि संक्रमित नबनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 नेपालमा १८ वर्षभन्दा माथिका ८३ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा १८ वर्षमाथिका ९५ प्रतिशत नागरिकले पहिलो मात्रा र ८३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको जनाइएको हो ।

सरकारले यही चैत्र मसान्तभित्र १८ वर्षमाथिका सत प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्रले जानकारी दिनुभयो ।

यसैगरी १२ वर्षमाथिका ९४ प्रतिशत नागरिकले पहिलो र ८१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

कोरोना विरुद्धको खोप लगाउन छुटेका नागरिकलाई आफ्नो वडा कार्यालयमा गएर लगाउन प्रवक्ता डा. सङ्गीता मिश्रले अनुरोध गर्नुभयो । -रासस


ताजा खबर