अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) पार्टी प्रवेश

चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) पार्टी प्रवेश गर्नुभएको छ ।

चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभएको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिनुभयो । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो ।

अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला ? विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो ? मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिनुभएको छ ।

एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उहाँले बताउनुभयो । मानन्धरले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताउनुभयो ।

मानन्धरले एमालेले समानता र सामाजिक न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गर्नुभयो ।


ताजा खबर