एमसीसीले गरीबी निवारणमा सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) देश विकासको सहयोगी परियोजना भएको बताउनुभएको छ ।

खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सु खोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रममा उहाँले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो ।

एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । “केही व्यक्तिहरू एमसिसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्”, उहाँले भन्नुभयो, “एमसिसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।”

प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वर भूमि भएकाले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवा समक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवं नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँच बुँदे माग पत्र पेश गर्नुभयो ।

माग पत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।


ताजा खबर