पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने

स्थानीय तहका जनप्रतिनिधिहरू पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालै स्वीकृत गरेको निर्वाचन आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले उम्मेदवार बन्न चाहे राजीनामा दिनुपर्ने व्यवस्था गरिएकाले पदमा बहाल रहेर पारिश्रमिक लिइरहेको अवस्थामा उम्मेदवार बन्न नपाइने बताउनुभयो ।

प्रवक्ता पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै यसबाट उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध हुने पनि प्रवक्ता पौडेलले बताउनुभयो ।

निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

दल दर्ताको काम सम्पन्न भइसकेको, मतदाता नामावली अद्यावधिकको काम पनि करिब करिब अन्तिम चरणमा पुगेको, मतपत्र छपाई, मतदाता नामावली छपाई, परिचयपत्र छपाई, निर्देशिकाहरू छपाई लगायतका काम अब प्राथमिकतामा राखेर अगाडी बढाइने आयोगले जनाएको छ । -रासस


ताजा खबर