वीरगन्ज भन्सारद्वारा लक्ष्य भन्दा बढी राजस्व असुली

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगंज आइसिपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/७९ को ८ महिना अर्थात् फागुन मसान्तसम्ममा १ खर्ब ३८ अर्ब ९४ करोड ९४ लाख ५७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले तोकेको लक्ष्य भन्दा पनि ३ दशमलव ६ प्रतिशत भन्दा बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो ।

मुलुकको आयात निर्यात बढेसँगै बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो ।

बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ३४ अर्ब १६ करोड, ७ लाख ८२ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्य भन्दा ४ अर्ब ७८ करोड ८६ लाख ९५ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा १ खर्ब ४ अर्ब ८९ करोड ६० लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा गत बर्ष भन्दा ३४ अर्ब ५ करोड ३४ लाख १२ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।


ताजा खबर