नेप्से झिनो अंकले बढ्यो : एक दुई रुपैयाँमै चर्को बार्गेनिङले शेयर कारोबार २३ करोडमा सिमित

बिहीबार दिन भरिनै सुस्त रहेको शेयर बजार कारोबारको अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भएको छ। दिन भरिनै शेयरको मूल्यमा लगानीकर्ताले चर्को बार्गेनिङ गरेका कारण बजार थोरै सकारात्मक देखियो।

लगानीकर्ता आफ्नो मूल्यमा अडिग रहन नसकेपछि सूचक झिनो अङ्कले बढेको हो। बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ०.७९ अङ्कले बढेर ११३५.९५ अंकमा उक्लिएको छ।

सेन्सेटिभ सूचक भने नकारात्मक देखिएको छ। ०.११ अङ्कले घटेर २५०.०६ अंकमा झरेको छ। बजार सुस्त भएपछि कारोबार रकम खुम्चिएर करिब २३ करोडमा समेटिएको छ।

दिन भरिनै आफूले दाखिला गरेको मूल्यमा अडिग रहेका लगानीकर्ताले कारोबारको अन्त्यमा भने मागेकै मूल्यमा शेयर दिनथालेपछि कारोबार रकम बढेको हो।

पछिल्लो समय शेयर बजारमा चर्को बार्गेनिङ हुन थालेको छ। लगानीकर्ताले एक/दुई रुपैयाँमै चर्को बार्गेनिङ्क गर्न थालेपछि शेयर कारोबार नै सुस्त देखिएको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए।’शेयरको मूल्य निकै तल आएको छ। कारोबारीले एक/दुई रुपैयाँमै शेयर किन बेच गर्न नमानेपछि शेयर कारोबार नै सुस्त देखिन थालेको हो’ती सञ्चालकले भने।

बजार सुस्ताएकै कारण कारोबार रकम समेत घटेको उनको जिकिर छ। बिहीबार १६३ कम्पनीका आठ लाख ३३ हजार कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। गएका केही दिन ३० करोड रुपैयाँ भन्दा बढिको शेयर कारोबार हुन थालेको थियो।

कारोबार रकमको आधारमा एनएमबि बैक, नेपाल बैक र हिमालयन डिस्टिलरीले अग्रता लिएका छन्। जसमा एनएमबि बैंकको चार करोड २९ लाख रुपैयाँ, नेपाल बैंकको एक करोड ३३ लाख र हिमालयन डिस्टिलरीको एक करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

दिनभरिमा १२ समूहको शेयर कारोबार भयो। उप सूचक मिश्रित देखिएका छन्। कारोबारमा आएका आठ समूहको शेयर सूचक बढेको छ भने चार समूहको उप सूचक घटेको छ। सबैभन्दा बढी ट्रेडिङ् समूहको उप सूचक ६.५४ प्रतिशतले बढेको छ। लघुबित्तको उप सूचक ०.४५ प्रतिशतले घटेको छ।

रासस


ताजा खबर