स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

आगामी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यालय निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ । -रासस


ताजा खबर