प्रधानमन्त्रीद्वारा खिम्ती पावर सब–स्टेसनको उद्घाटन

 प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन गर्नुभएको छ । आज शनिबार आयाेजित एक विशेष समाराेहबीच रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।

रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।

ढल्केबरपछिको यो दोस्रो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीन वटा सबस्टेशन सञ्चालनमा छन् ।

विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुवाती लागत रु एक अर्ब ५० करोड बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ ।

नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गज्र्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिनेछ । हालको क्षमताअनुसार सो सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने छ ।

रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्त्वपूर्ण मानिएको सो सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ । माथिल्लो तामाकोसी को झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ । सबस्टेशनमा चार वटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहने प्राधिकरणको भनाई छ । उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।


ताजा खबर