यातायात व्यवस्था कार्यालय सेवाग्राहीलाई सास्ती : बिचौलियालाई मस्ती

यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो ।

बिचौलियाबाटै बार्गेनिङ हुने भएपछि कर्मचारीलाई टाउको दुःखाइको विषय छैन । कार्यालयको प्रवेशद्वारमै “छिटो लाइसेन्स निकालिदिन्छु, लाइन बस्नु पर्दैन, लिखित र ट्रायलमा पास गराइदिन्छु” भन्नेहरूको तानातानमा पर्छन् सेवाग्राही ।

सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भ¥याङमा थप भएपछि पहिलाको तुलनामा सेवाग्राहीको भीड आधा घटेको छ तर सेवाग्राहीलाई दिने सास्ती र ठगिने क्रम भने घटेको छैन ।
प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई विगत १२ वर्षदेखि सहयोग गर्दै आएको बताउने ५० वर्षीय केशव भन्नुहुन्छ, “मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटकपटक धाइरहन पनि चाहँदैनन् । बरु दुई चार सय रुपियाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्, त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौँ । ”

कार्यालय खुल्ने समयभन्दा तीन घण्टाअगावै सेवाग्राही टोकन लिन बस्ने गर्छन् । त्यो टोकन लिइदिने, लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गरेका छन् । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । तर अनलाइन प्रणालीलले गर्दा भीड कम भएको अधिकारीहरूको दाबी छ ।

कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरि भीडभाड छ । कोलाहल छ । धुलोधुवाँ र अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन । लामको व्यवस्थापन छैन, महिला पुरुषको लाम एउटै छ । कार्यालयका संरचनाहरू महिला र अपागङ्तामैत्री देखिँदैन । शौचालय अत्यन्त दुर्गन्धित छ । भ¥याङका भित्ताहरूमा गुट्खा चपााएर थुकिएको छ तर सरसफाइको कुनै प्रयास छैन । सेवाग्राहीको स्वास्थ्य वा सुविधालाई चासो दिएर कार्यालयको व्यवस्थापन छैन । अर्घाखाँची अर्घातोषका प्रदीप कुँवर यातायात कार्यालय धाएको तीन दिन भइसक्यो । लाइसेन्सको ग्रेड ‘ए’ र ‘बी’ दुवै उत्तीर्ण गरे पनि नवीकरण गर्ने बेलामा पास गरेको प्रमाण नभेट्टाएपछि पटकपटक धाउनु परेको छ ।

लाइसेन्स नवीकरण त भयो तर ग्रेड ‘बी’ छुटेपछि ढड्डामा प्रमाण खोज्न उहाँले सास्ती भोग्नु परेको छ । कुँवरले भन्नुभयो, “‘ए’को रेकर्ड छ तर ‘बी’को रेकर्ड नहुँदा समस्या भयो । पास गरेकै हो, रेकर्ड नभेटिनु मेरो समस्या होइन तर दुःख मैले भोग्नु परेको छ । ” प्रमाण तथा कागजातको व्यवस्थित पञ्जीकरण नहुँदा सेवाग्राही नै मर्कामा परेका छन् ।

रेकर्ड नभेटिने, प्रमाण फरक पर्ने समस्याले सेवाग्राही हैरानीमा छन् । तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख डम्बरबहादुर चन्द भने विगतको तुलनामा सुधार भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले ‘अनलाइन’ प्रणाली छ । प्रक्रिया सुरु भएपछि पद्धतिमा काम हुन्छ । पुराना १०÷१५ वर्षअघिका दस्तावेजमा आधिकारिक प्रमाणको अभाव छ । प्रमाणबिना हामीले नवीकरण गर्न सम्भव छैन । सेवाग्राही भन्नुहुन्छ, हाम्रो के गल्ती छ । हेर्छौं, उहाँहरूको कुरा पनि जायज छ । ”

कार्यालयले ७७ वटै जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्छ । दैनिक तीन हजारलाई सेवा प्रवाह गरिरहेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा लिने, नयाँ लाइसेन्स वितरण तथा नवीकरण गर्ने काम कार्यालयले गर्छ । सेवाग्राहीको चापले बेथिति बढेको हुनसक्ने उहाँको दाबी छ । चन्दको प्रतिबद्धता छ, “कार्यालयलाई चुस्तदुरुस्त राख्ने प्रयास गरिरहेका छौँ ।

पहिलाको तुलनामा धेरै सुधार भएको छ, अझै गर्छौं । बिचौलियाहरूको बिगबिगी हटेको छ । हामी नियन्त्रण गर्छौं । अनलाइनमा काम गर्दा केही प्राविधिक समस्या पनि हुने भएकाले अप्ठेरो परेको छ, हामी छिटो काम गरिदिने अभियानमै छौँ । ” कार्यालयका अनुसार २५ प्रतिशत काम अझै पनि अनलाइनमा लैजान सकिएको छैन । पुराना ढड्डाहरूलाई अनलाइनमा राख्न खोजिएको छ । दिनको दुई तीन पटक अनलाइन सिस्टमले काम नगर्ने भएकाले पनि दिनहँु सास्ती भोगिरहेको छ कार्यालयले । तर विभागले आफ्नै सफ्टवेयर निर्माण गर्न लागेको चन्दलेजानकारी दिनुभयो ।

कर्मचारी अभावले गर्दा पनि सेवाग्राहीलाई असहज हुन गएको प्रमुख चन्दको दाबी छ । करिब एक सय जना कर्मचारीको आवश्यकता छ तर कार्यालयमा ३८ जना मात्रै कर्मचारी छन् । कर्मचारीभन्दा बिचौलियाको सङ्ख्या धेरै छ; जो माथिल्लो तहका कर्मचारीसँगको सेटिङमा सक्रिय भएका छन् । कार्यालयमा यस्तो गतिविधि खुला देख्न सकिन्छ ।

अनेक सास्तीका बीच यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि सेवाग्राहीले अर्को सास्ती भोग्नुपर्छ । लाइसेन्स उत्तीर्ण भएको डेढ वर्षसम्म लाइसेन्स नपाउने समस्या वर्षौंदेखि उस्तै छ । यातायात व्यवस्था कार्यालयले अहिले पनि छ लाखभन्दा बढी सेवाग्राहीको लाइसेन्स दिन सकिरहेको छैन । सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ ।

रासस


ताजा खबर