सांसदलाई चुनावका लागि गाउँ जान एमाले अध्यक्षको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा गाउँगाउँका जनताको घरदैलोमा पुग्न सङ्घीय संसद्का आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

संसदीय दलको नयाँ बानेश्वरमा भएको बैठकमा अध्यक्ष ओलीले एमालेले पाँच दलीय गठबन्धनलाई एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जनताका बीचमा पुगेर मत माग्न आग्रह गर्नुभएको हो ।

दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सरकारले हठात् सङ्घीय संसद्को अधिवेशन अन्त्य गराएको र समसामयिक विषयमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिनुभएको थियो ।

भट्टराईले वडा, पालिका र जिल्ला तहमा अधिवेशन सम्पन्नसहित साङ्गठनिक र वैचारिकरूपमा चुस्त हुँदै उम्मेदवार चयनका लागि मापदण्ड तय गरिसकेको अवस्थामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न एमाले पूर्णरूपमा तम्तयार रहेको बताउनुभयो ।

उहाँले वर्तमान ‘विचार र सिद्धान्त नमिल्ने’ सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न एक्लै एमाले सक्षम रहेको जिकिर गर्दै हाल जनप्रतिनिधि रहेका र राम्रा काम गरेका तथा योग्यतम उम्मेदवारलाई सम्बन्धित कमिटीले सकेसम्म सर्वसम्मतरूपमा उम्मेदवार चयन गर्ने र ती कमिटीले नसकेमा माथिल्लो कमिटीले निर्णय दिने स्पष्ट गर्नुभयो ।

उहाँले एमालेबाहेकका दलले नै एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन आवश्यक रहेको जनाउन थालेकाले समृद्धिको सोचसहित एमाले चुनावमा उत्रने बताउनुभयो ।


ताजा खबर