बीपीको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ प्रदर्शन

नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ।

वृत्तचित्रमा २०३३ सालमा बीपी कोइरालाले निर्वासनबाट किन र के कारणले मेलमिलापको नीति लिएर नेपाल फर्किएदेखि राजाले जनमत सङ्ग्रह घोषणा गरेको समयसम्मका घटनाक्रमलाई देखाइएको छ।

राजद्रोह सम्बन्धी आठ वटा मुद्दा लागेका वेला सहकर्मीहरू गणेशमान सिंह, शैलजा आचार्य, रामबाबु प्रसाईं, खुमबहादुर खड्का, निलाम्बर पन्थी सहित १६ पुस २०३३ मा भारतबाट स्वदेश फर्किएको विषयलाई रोचक तरीकाले प्रस्तुत गरिएको छ। यसमा एकातिर नेपाल आउँदा मृत्युदण्ड हुन सक्ने र अर्कोतिर भारतमै रहँदा मुलुकको राष्ट्रियता सङ्कटमा पर्न सक्ने जोखिमलाई औंल्याइएको छ।

बीपी र गणेशमानका सन्तान, त्यति वेला उनीहरूको उपचारमा खटिएका चिकित्सक, अधिवक्ता, राजदरबारका व्यक्तिहरू लगायत व्यक्तिबाट बीपी र गणेशमानले गरेको संघर्षको कथा वृत्तचित्रमा प्रस्तुत गरिएको छ।

सुशील कोइराला मेमोरियल फाउन्डेशनको सहयोगमा निर्माण गरिएको वृत्तचित्रको लेखन तथा निर्देशन पत्रकार जगत नेपालले गरेका हुन्।

फाउन्डेशनका सदस्य-सचिव अतुल कोइराला ऐतिहासिक विषयको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले यसको निर्माण गरिएको बताउँछन्। कोइराला भन्छन्, “यस्ता राजनीतिक क्रान्तिका विषयमा अनुसन्धान कम भएका छन्। यो पहिलो काम गरेका छौं, अरू पनि गर्दै जान्छौं।” -रासस


ताजा खबर