सरकारले मलेसिया जाने श्रम स्वीकृति दिन पुनः सुरु गर्ने

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः सुरु गर्ने मन्त्री स्तरीय निर्णय गर्नुभएको हो ।

मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका  माग पत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् ।मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार माग पत्र नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गर्ने निर्णय गरिएको हो । -रासस


ताजा खबर