साउदी अरेबियाका राजकुमार आज नेपाल भ्रमणमा आउँदै

साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार राजकुमार र फैजल दुई दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको बताउनुभयो । त्यसका लागि नेपाल सरकारका तर्फबाट मन्त्रालयले सम्पूर्ण तयारी गरेको छ । नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भने राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नुहुनेछ । साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ । -रासस


ताजा खबर