प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता शुरु

बागमती प्रदेश स्तरीय प्रथम खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको शनिवार एक समारोहबिच प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक वैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

हेटौँडाको क्याम्पा चौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको ब्यान्ड सहितको प्रस्तुति, विद्यार्थीहरूद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवा:, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरेका थिए ।

उद्घाटन कार्यक्रम बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षता एवम् मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यता साथै प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रदेश सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट अतिथ्यतामा भएको हो ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हेटौँडामा मिनी रङ्गशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई सम्मान समेत गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौँडाका कलाकारहरूले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता अन्तरगत मकवानपुरमा आइतबार पुरुष तर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबिच हुने परिषद्ले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ । प्रतियोगितामा ८ वटा खेल हुनेछ ।

मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताउनुभयो ।

त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौँमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार बढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।


ताजा खबर