दक्षिण कोरिया प्रवेश गर्दा अब क्वारेन्टिनमा बस्न नपर्ने

इपिएस अन्तर्गत भाषा पास गरेर उडानको प्रतीक्षामा रहेका नेपाली श्रमिकलाई सहज

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । 

यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो । 

यो व्यवस्था आएसँगै वर्षौँदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी मजदुरलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको मुलुक दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादेश, श्रीलङ्का, म्यानमारलगायत १६ देशबाट इपिएस कामदार लैजाने गरेको छ ।

क्वारेनटिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहज रुपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वारेन्टिनको शुल्क महँगो हुने कारणले समेत थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ । 

कोरोना भाइरस सङ्क्रमणका कारण सहज रुपमा कोरिया प्रवेश गर्न नपाउँदा नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा पास गरेर उडानको प्रतीक्षामा रहेका हजारौँ श्रमिक प्रभावित भइरहेका थिए । 

कोरियाले केही समयअघिबाट बिस्तारै कामदार प्रवेश गराउन थाले पनि प्रतीक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन । तर यो निर्णयले कोरिया प्रवेश छिटो हुने बुझाइ यहाँका विभिन्न सङ्घसंस्थाको प्रतिनिधिमा  छ । -रासस


ताजा खबर