त्रिभुवन विमानस्थलको श्रम डेस्क हटाइयो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ ।

सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली यस वर्ष घटे

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीले बुधबार विमानस्थलमा राखिएको श्रम डेस्क हटाएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन सूचना प्रणाली (फेमिस) कार्यान्वयनमा आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको हुँदा हटाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानस्थलमा श्रमिकका लागि यसअघि छुट्टै द्वारबाट प्रवेश दिने गरिएकामा अहिले भने सबै द्वारबाट प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो र सहज बनाउन बिहीबारदेखि तीनवटै द्वारबाट प्रवेश पाउने व्यवस्था गरिएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।

यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अहिले श्रमिकले श्रम डेस्क नगई सबै द्वारबाट विमानस्थलमा प्रवेश पाउन थालेको विभागले जनाइएको छ ।

विभागका महानिर्देशक पौडेलले यसअघि श्रम स्वीकृति सक्कली वा नक्कली हेर्न श्रम डेस्क राखिए पनि अहिले अनलाइन सफ्टवेयर राखिएसँगै त्यसको औचित्य सकिएकाले हटाइएको बताउनुभयो । नयाँ व्यवस्थाले एउटा मात्र प्रस्थानद्वारमा सीमित गरिएका कारण प्रवेश गर्नसमेत श्रमिकलाई घण्टाँै लाइन बस्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । -रासस


ताजा खबर