चीनसँगको प्रसारण लाइनको सम्भाव्यता अध्ययन पूरा

चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सम्भाव्यता अध्ययन सकिएको छ । यसमा निर्माण खर्च १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

चीनको जिलोङ काउन्टीबाट रसुवागढी नाका हुँदै रातमाटे सम्म निर्माण हुने चार सय केभी प्रसारण लाइनको नेपालतर्फ सम्भाव्यता अध्ययन पूरा भएको हो । रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइन आयोजनाका अनुसार, वन क्षेत्र तथा निकुञ्ज क्षेत्र गरी दुई वटा रुटबाट अध्ययन गरिएको छ । आउँदो चैतबाट वातावरणीय अध्ययन मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढाइने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो ।

वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दूरी ७० किलोमिटर हुने र २१४ वटा टावर निर्माण गर्दा करीब १० अर्ब खर्च लाग्ने छ भने निकुञ्ज क्षेत्रबाट निर्माण गर्दा ६५ किलोमिटर क्षेत्रमा १७१ वटा टावर निर्माण गर्दा पुग्ने भएकाले करिब नौ अर्ब लाग्ने अध्ययनमा उल्लेख छ । नेपाल तर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ । निमार्ण सुरु भएको छ वर्ष भित्रमा निमार्ण सम्पन्न गरिने लक्ष्य उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत रहेको आयोजना विकास विभागले यसको काम गरिरहेको छ ।


ताजा खबर