व्यास महिला हाफ म्याराथन कान्छीमाया कोजुले जितिन

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाको आयोजनामा मङ्गलवार भएको दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि एपीएफकी कान्छीमाया कोजुले जित्नु भएको छ ।

कोजुले २१ किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट १२ सेकेन्डमा उक्त दुरी पार गर्दै उपाधि जित्नुभएको हो । महिला हाफ म्याराथनमा प्रथम हुनुभएको कोजुले रु ४१ हजार ७८ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको हो । यस्तै नेपाल प्रहरीकी रेखा बम विष्ट द्वितीय हुनुभएको हो । विष्टले उक्त दुरी २ घण्टा ४ मिनेट ४२ सेकेन्डमा पार गर्नुभएको हो । द्वितीय हुने विष्टले रु ३१ हजार ७८ नगदसहित ट्रफि र प्रमाण प्राप्त गर्नुभएको हो ।

यस्तै व्यास–१० की नम्रता गुरुङ तृतीय हुनुभएको हो । गुरुङले उक्त दुरी २ घण्टा ११ मिनेट २३ सेकेन्डमा पार गर्नुभएको हो । तृतीय गुरुङले रु २१ हजार ७८ नगदसहित ट्रफि र प्रमाण प्राप्त गर्नुभएको हो ।

यस्तै सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य सहित व्यास–३ व्यासगुफा र व्यास–११ तनहुँसुरसम्म महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरिएको हो । प्रतियोगितामा ५१ महिला धावकले नाम दर्ता गराएको व्यास नगरपालिकाकाले जनाएको छ ।

महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका उपप्रमुख मिरा जोशीले जानकारी दिनुभयो ।

व्यास गुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड भएको हो । उक्त दूरी २१ किमीको रहेको थियो ।


ताजा खबर