‘महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय हो’

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउनु पर्ने बताउनुभएको छ ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले महिलाविरुद्ध कुनै प्रकारका विभेद र सामाजिक भेदभाव नगर्न सबैलाई आग्रह गर्दै महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले राज्यका सबै निकायमा महिलाको समान सहभागिता आवश्यक रहेको औँल्याउँदै पछिल्लो समय राजनीतिक क्षेत्रमा महिला सहभागिता उल्लेख्य रहनु सकारात्मक रहेको बताउनुभयो ।

उहाँले महिलासँग सम्बन्धित विषय महिलाको मात्र नभई सबैको साझा विषय भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चित गर्न त्यसको प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अझैपनि समाजमा महिला हिंसा व्याप्त रहेको भन्दै त्यसलाई निर्मूल पार्न पुरुषको समेत मानसिकतामा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले अन्य विकसित देशको तुलनामा नेपालमा राजनीतिक तहमा महिला सहभागिता उल्लेख्य रहेको बताउँदै यसैको जगमा उभिएर महिलालाई नीति निर्माण तहसम्म पुर्‍याउन आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री रेग्मीले महिला हिंसा न्यूनीकरणका लागि घरदेखि राज्य तहसम्म महिला पुरुषको समान सहभागिता आवश्यक रहेको भन्दै दूर दराजमा रहेका महिलाहरूलाई उद्यमशील बनाउने कार्यमा मन्त्रालयले योजना बनाएर अघि बढ्ने तयारी गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाका हक सम्बन्धी कानुनले व्यवस्था गरेका सुरक्षाको पूर्ण कार्यान्वयन गर्दै नपुगेका व्यवस्था थप गर्न रचनात्मक आन्दोलन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले महिलाका लागि संवैधानिक र राजनीतिक व्यवस्था मात्रै भएर नहुने भन्दै त्यसलाई व्यवहारिक जीवनमा कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संविधानले मौलिक हकका रुपमा महिला हक स्थापित गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझैपनि महिला हिंसा व्याप्त रहेको बताउनुभयो ।

उहाँले विगतको तुलनामा महिला सम्बन्धी बनेका कानुनले महिलाका लागि बाटो फराकिलो र सम्मानयोग्य बनाएको भएपनि पर्याप्त नभएको भन्दै महिला हक हितका लागि बनेका आयोग र सम्बन्धित निकायले राज्यलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले मानव अधिकारको संरक्षण र संवर्द्धनमा मानव अधिकार आयोग सदैव लागिरहेको भन्दै विभिन्न आयोगहरूसँग सहकार्य गरी महिलाका हक हितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न महिला हिंसा नरोकिनुका साथै विकृति, विसङ्गति मौलाएको भन्दै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले राजनीतिक क्षेत्रमा भएको उपलब्धिका आधारमा सामाजिक आर्थिक क्षेत्रमा महिला सहभागिता उपलब्धिमूलक हुन नसकेको बताउनुभयो ।

अझैपनि महिला हिंसाका घटना भइरहनु दुखद भएको भन्दै अध्यक्ष पराजुलीले महिला अधिकार सम्बन्धी बनेका कानुनको प्रभावकारी र पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले लैङ्गिक समानता विना दिगो विकास सम्भव नभएको भन्दै राज्यको रणनीति महिला सशक्तीकरण र समानता केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।


ताजा खबर