निजामती ऐनलाई समयअनुकूल अघि बढाउने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

“निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ”, उहाँले भन्नुभयो । 

राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्र हितका लागि उनीहरूलाई लगाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले प्रभावकारी ढङ्गले काम गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकारलाई संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै ट्रेड युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लैजानको लागि सरकारको पूर्ण समर्थन रहने उल्लेख गर्नुभयो । निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।

सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारी भएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्त्वपूर्ण भूमिका रहेको छ, निजामती कर्मचारी कानुनप्रति इमानदार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ,” । सरकार र जनताबीच निजामती कर्मचारीले पुलको काम गर्दै आएको उहाँको भनाइ थियो । रासस


ताजा खबर