नेपाल राष्ट्र बैङ्कको पाँच वर्षे रणनीति २०२२ – २०२६ तयार

विद्युतीय कारोबार प्रवर्धन र नेसनल पेमेन्ट स्विच कार्यान्वयन प्राथमिकता

नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । सन् २०२२ देखि २०२६ सम्मका लागि उक्त रणनीतिक योजनाले केन्द्रीय बैङ्कको आगामी पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ । सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौथो रणनीतिक योजना हो ।

यो रणनीतिक योजना आगामी पाँच वर्षका लागि राष्ट्र बैङ्कको ‘रोडम्याप’ हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख गर्नुभएको छ । केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गर्नुपर्ने विशेष र नवप्रवद्र्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ ।

रणनीतिले परिलक्षित गरिएको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना काम कारबाहीलाई अगाडि बढाउने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले बताउनुभयो । यो योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजनालाई समेटेको छ । रणनीतिक योजनाअनुसार राष्ट्र बैङ्कले आगामी पाँच वर्षमा भूकम्पले भत्काएको केन्द्रीय बैङ्कको भवन निर्माण सम्पन्न हुने, मुद्रा व्यवस्थापनको आधुनिकीकरण गर्ने, थोत्रा नोट धुल्याउने नयाँ प्रविधिलाई प्रयोगमा ल्याइने लक्ष्य बनाएको छ । त्यस्तै विद्युतीय कारोबारको प्रवद्र्धन गर्ने, नेसनल पेमेन्ट स्विच कार्यान्वयनमा ल्याइनेलगायतका उपलब्धि हासिल हुने विश्वास लिइएको छ ।

पाँच वर्षे रणनीतिअन्तर्गत आर्थिक अनुसन्धान र मौद्रिक व्यवस्थापन, नियमन र अनुगमन, बाह्य क्षेत्रको व्यवस्थापन, भुक्तानी प्रणाली र मुद्राको व्यवस्थापन, सुशासन साङ्गठनिक विकास र बौद्धिक व्यवस्थापन, पूर्वाधार र व्यवसायकोे निरन्तरता र सहकार्य र संयोजन गरी सात रणनीतिक खम्बा तयार गरिएको छ । आर्थिक अनुसन्धान र मौद्रिक व्यवस्थापन रणनीतिले राष्ट्र बैङ्कलाई तथ्याङ्कगत आधारमा बलियो बनाउँदै सबुत प्रमाणमा आधारित भएर नियमनकारी र अनुगमनकारी भूमिकालाई थप सबल बनाउने बताइएको छ ।

त्यस्तै अन्तर्राष्ट्रियस्तरका असल प्रयोगलाई अवलम्बन गर्दै नियमन र अनुगमन गर्न सहयोग पुग्नेगरी रणनीति बनाइएको छ । बाह्य क्षेत्र व्यवस्थापनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीलाई सहज बनाउन विदेशी विनिमयलाई प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई नियमित रूपमा निगरानी गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्कले नोट तथा सिक्काको मागलाई प्रक्षेपण गर्दै पर्याप्त आपूर्ति गर्ने व्यवस्थाका साथै आधुनिक पूर्वाधार र प्रभावकारी अनुगमन गर्ने रणनीति तय गरिएको छ । त्यस्तै सफा नोटको प्रवाहलाई जोड दिने, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वातावरणमैत्री तरिकाबाट झुत्रा नोटको व्यवस्थापन रणनीतिमा समेटिएको छ ।

सुशासन, सङ्गठनात्मक विकास र प्रतिभा प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले जोखिममा आधारित आन्तरिक लेखा परीक्षण गर्ने, सुशासन कायम गर्दै पारदर्शिता, जवाफदेहिता र स्रोतको प्रभावकारी व्यवस्थापनमा जोड दिने रणनीति बनाएको छ । सहकार्य र सहसंयोजनका लागि समकक्षी सिकाइलाई जोड दिने, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने रणनीति केन्द्रीय बैङ्कले तय गरेको छ । –रासस


ताजा खबर