नेपालमै शल्यक्रिया बिना मुटुको भल्ब प्रत्यारोपण

नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिनुभयो ।

उहाँले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । यसविधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम शुरुगर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसूस हुने गर्दछ । केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर आज शुक्रबार डिस्चार्ज गरेको हो । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ । उक्त एओर्टिक भल्व बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस्ता रोग लागेमा बिरामीकोे पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुने गर्दछ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो । तर वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ ।

ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको हो । “बिरामीको नियमित दुई महिनाको नियमित परीक्षण पछि हामीले सफल प्रत्यारोपण गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो, “भल्वको सिटी स्क्यान गरेर कम्पनीमा पठाऔँ र सोहीको आधारमा भल्व बनाइ नेपाल पठाइएको हो । लामो सल्लाहपछि भल्व प्रत्यारोपण गर्न हामी सफल भयौँ ।” बिरामीको मुटुमा २३ एमएमको भल्व राखिएको छ । बिरामीलाई २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका भल्व राख्ने गरिन्छ ।

उहाँले नेपालमा नै उक्त भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महङ्गो खर्च गरेर जान नपर्ने बताउनुभयो । केन्द्रका निर्देशक डा अधिकारीका नेतृत्वमा रहेको २२ जनाको चिकित्सकसहित टोली सफल भल्वको प्रत्यारोपण गरेको हो । कृत्रिम भल्व नेदरल्याण्डमबाट खरिद गरी ल्याइएको हो ।

“भल्व प्रत्यारोपण सफल गराउनु ठूलो चुनौति थियो । मैले यसभन्दा अघि पनि नेपालमा पहिलो पटक हुने ठूलाठूला शल्यक्रिया गरेका थिए”, उहाँले भन्नुभयो, “भल्व प्रत्यारोपण गर्नका लागि म आफँै एक दुई दिनदेखि कसरी सफल गराउन भन्नेमा थिएँ । प्रत्यारोपण सफल भयो । म खुशी छु ।”

यस किसिमको प्रत्यारोपणले अब नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने उहाँले बताउनुभयो । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्स पहिलो पटक गरिएको थियो । कृत्रिम भल्व प्रत्यारोपण भारतमा ६० देखि ८० लाख रुपियाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा अधिकारीले बताउनुभयो ।

एओर्टिक भल्व साँघुरिने समस्या के हो यसमा कस्ता लक्षण देखिन्छन् ?
डा अधिकारीका अनुसार मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ । यो रोगले गर्दा खासगरी स्वाँस्वाँ हुने छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षणहरु देखिने डा अधिकारी बताउनुहुन्छ ।

यस्ता लक्षणहरु देखिएका बिरामीहरुको दुई वर्षभित्र मुत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्यानहरुले देखाएका छ। विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारीरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्दछ ।

यस्ता बिरामीहरुको जोखिम न्युकरण गर्नको निमित टिएभीको विकास भएको हो । यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रात्यारोपण गरिन्छ ।
टिएभीआइ भनेको के हो ?
चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

डा.अधिकारीका अनुसार प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुन्छ ।
‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कम्प्लिकेसनहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उहाँले भन्नुभयो, ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो । –रासस


ताजा खबर