काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल

नेपाली काँग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्रकुमार पोख्रेल निर्वाचित हुनु भएको छ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा पोख्रेलले उज्ज्वल बराललाई ४१० मतको अन्तरले पराजित गर्नुभएको हो।

पोख्रेलले ८८५ मत ल्याउँदा बरालले ४७७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कुल एक हजार ५३४ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा एक हजार ३७१ मत खसेको थियो। यसअघि जिल्ला कार्य समितिको सभापति, पदाधिकारी र सदस्य चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदका पाँच उमेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत ल्याउन सक्नु भएन । काँग्रेसको विधान अनुसार धेरै मत ल्याउने उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन भएको हो।

दोस्रो चरणको निर्वाचनमा सस्थापन समूहका एक मात्र उमेद्वार प्रेमचन्द्र दाहालले पोख्रेललाई सघाउनु भएको थियो।

त्यस्तै जिल्ला कार्य समितिको दुई उप–सभापतिमा दिपक घिमिरे ६९९ मत र जगतबहादुर भ्लोन ४०२ मत प्राप्त गरी निर्वाचित बन्नु भएको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिनुभयो। उप–सभापति पदमा आठ जना उमेद्वार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा रहनु भएको थियो।

निर्वाचन अधिकृत खड्काका अनुसार जिल्ला कार्य समिति दुई सचिवमा ईश्वर बस्नेत ७११ मत र कान्छामान बल ५०६ मत प्राप्त गरी निर्वाचित बन्नु भएको छ। सचिव पदको दाबी गर्दै सात जना उमेद्वार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो।

सह–सचिब दुई पदमा विष्णु काकी ७४८ मत र सुरज मिश्र ६६५ मत प्राप्त गरेर निर्वाचित बन्नु भएको छ। कार्य समितिका पाँच सदस्यको मतपरिणाम बुधबार सार्वजनिक हुने बताइएको छ।

उक्त निर्बाचन प्रकृया अन्तर्गत विभिन्न पदमा निर्वाचित हुने सभापतिसहित ४३ पदका लागि ८७ जनाको उमेद्वारी दर्ता भएको थियो। पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार जिल्ला अधिवेशन मङ्सिर १० गते गर्नु पर्ने भएपनि त्यती बेला विविध कारणले हुन सकेको थिएन। –रासस


ताजा खबर