युक्रेनमाथिको आक्रमण रोक्न राष्ट्रसंघलाई अपील

जवाफदेहीता निगरानी समितिले युक्रेनमाथि रूसले गरेको सैनिक आक्रमण तत्काल रोक्ने पहल गर्न संयुक्त राष्ट्रसंघलाई अपील गरेको छ।

राष्ट्रसंघको बडापत्र, विश्वव्यापी मानव अधिकारको घोषणापत्र १९४८, अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि, अन्तर्राष्ट्रिय मानवीय कानून एवं रोम विधान समेतले प्रत्याभूत गरेको नागरिकको सुरक्षित भएर बाँच्न पाउने अधिकारलाई नजरअन्दाज गरी रूसले विश्वको सुरक्षा तथा शान्तिमाथि खतरा उत्पन्न गराई शक्तिराष्ट्रको अधिकार दुरुपयोग गरेको भन्दै समितिले यस्तो आग्रह गरेको हो।

समितिका तर्फबाट संयोजक चरण प्रसाईंद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “रूसी आक्रमण रोकेर युक्रेनी जनताको जीवन र धनजनको सुरक्षा गर्दै शान्ति बहाली गर्ने दिशामा संयुक्त राष्ट्रसंघ जस्ता विश्वव्यापी संस्थाहरूलाई प्रभावकारी कदम चाल्न पनि हामी जोडदार अपील गर्दछौं।”

विश्वको सुरक्षा, शान्ति, मानव अधिकार तथा लोकतन्त्रको रक्षा गर्ने अहं तथा प्रथम दायित्व भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को पाँच स्थायी सदस्यमध्येको रूसले गरेको आक्रमण घोर निन्दनीय र खेदजनक भएको समितिको ठहर छ।


ताजा खबर