‘ए’ डिभिजन लिग मछिन्द्र फुटबल क्लबले जित्यो

मछिन्द्र फुटबल क्लबले अपराजित रहदै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे ।

एपीएफका प्रदिप लामाले एक गोल फर्काए ।

दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा सुरुआती अग्रता मछिन्द्रले बनाएको थियो ।

खेलको ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाएका थिए । आन्द्रेस नियाको पासमा पेनाल्टी बक्सको ठिक भित्रबाट अविशेकले गोल गरे ।

तर, खेलको ६९ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । गोलकिपर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अगाढी बढेको अवस्थामा उनले गोल गरे ।

त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए । उनले आन्द्रेसको पासमा सहजै गोल गरे ।

खेलको ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

त्यसबाहेक दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।

खेलको छैटौं मिनेटमा मछिन्द्रका अविशेक गुरुङको प्रहार एपीएफका गोलकिपर युया कुरियामाले सहजै आफ्नो पन्जामा पारे ।

खेलको २१ औं मिनेटमा मछिन्द्रका विशाल राईको क्रसमा पेनाल्टी बक्स भित्रबाट अविशेक रिजालले प्रहार गरेको एक्रोब्याटिक सट एपीएफका गोलकिपर कुरियामाले सहजै नियन्त्रणमा लिए ।

खेलको २२ औं मिनेटमा एपीएफका आवाश लामिछानेको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको २५ औं मिनेटमा विशालको पासमा विमल घर्ति मगरले पेनाल्टी बक्सको ठिक वाहिरबाट प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन ।

३६ औं मिनेटमा एपीएफका सनिश श्रेष्ठको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो नियन्त्रणमा लिए ।

खेलको ४६ औं मिनेटमा एपीएफका रबि थिङ गोल गर्न चुके । सिक्स यार्ड बक्समा अनमार्क रहेका उनले बाहिर प्रहार गरे ।

खेलको ६३ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रि-किक पोस्टको थोरै माथिबाट बाहिरिएको थियो ।

यस्तै खेलको ६५ औं मिनेटमा एपीएफका रबीले पेनाल्टी क्षेत्र भित्रबाट बाहिर प्रहार गरेका थिए ।

यस जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोड्यो ।

मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो ।  मछिन्द्रले विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल ब्यहोरेको थियो ।

एपीएफले १३ खेलमा १५ अंक जोड्यो । एपीएफले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।


ताजा खबर